काठमाडौं, मंसिर ७ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै शक्ति प्रर्दशन गर्दै छन् ।
युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन् ।
युवा संघ र प्रसाईंको समूहको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
आज काठमाडौंमा हुने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।आज बिहानैदेखि काठमाडौंका चोक(चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।बिहानैदेखि तीनकुने र बल्खु क्षेत्रसहित काठमाडौं उपत्यकाभित्र बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।
सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय ९डीजीएमआई० का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् ।














