विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको छ ।
भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरुमा कडाइ गरिएको हो । प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए । उनका अनुसार अझै केही दिन नाकाहरुमा विशेष निगरानी जारी रहनेछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरुमा निगरानीलाई निरन्तरता दिने भएको हो ।नाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरेको छ ।
आफ्नो आन्दोलनमा भारतबाट समेत सहभागी हुन आउने जानकारी प्रसाईँले सार्वजनिक गरेका थिए यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन्।बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।
पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा झापाबाट थाहा भएको छ।
पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल ¥याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पु¥याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।
प्रहरीले मोरङको जोगबनी, झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीका नाकाहरूमा सुक्ष्म निगरानी भइरहेको जनाएको छ ।यस क्रममा नेपाल प्रवेश गर्न खोज्ने कतिपय समूहलाई प्रहरीले नाकाबाटै फर्काएको जनाएको छ ।














