आवश्यक परे संघीय सरकारसँग संघर्ष : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्छ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ’ उनले भने, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् । प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गरेका थिए ।

प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार  ३ : ५१ बजे