अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई काँग्रेसको सुझाव



मंसिर १३,काठमाडौं। सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ ।बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो ।

संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘नेपाली काँग्रेस हामी आफनै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छांै । र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ । र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं । र, अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्याहरु छन, त्यसलाई नै हामीले राजनीतिक रुपमा उठेका प्रश्न भनेका छौं । संघीयताका कुराहरु, संघीयतामा प्रदेशलाई अधिकार दिने कुराहरु, केही कानुनहरु निर्माण गर्न बाँकि छन् । संविधानको पक्षमा नेपाली काँग्रेस प्रतिवद्ध छ । यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ । ’

त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । बैठकमा पार्टी उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा। प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा काँग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ६ : ३८ बजे