रास्वपाको राजनीतिक दस्तावेज पारित, उपसभापतिमा डा. स्वर्णिम वाग्ले मनोनित



काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनित गरेको छ ।

महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरेको छ ।

यसैबिच रास्वपाले १२ सदस्यीय सचिवालय बनाएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ ।

सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रश्तावना पारित गरिएको छ । रास्वपाको केन्द्रिय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रश्तावना पारित गरेको हो । प्रश्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ ।

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रिय सदस्य डा. स्वर्णिम वाग्लेले बताए । रास्वपाले पारित गरेको प्रश्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको पनि उनले बताए ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ७ : २४ बजे