पूर्वएआईजी चन्दले- भने तारा बरालसँग विवाह गर्ने सहमति छैन,हनी ट्रयापरविरुद्ध संगठननै बनाउनुपर्ने भैसक्यो



काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध मात्रै रहेको बताए ।

तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले दाबी गरे । बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ । भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको’ टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे ।चन्दकी श्रीमतीको २०६२ सालमा निधन भएको थियो । त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमा–बाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए ।

उनले अहिले देशभर हनी–ट्रयापिङबाट धेरै मानिस पीडित भएको बताए । ‘पीडित हुनेको संख्या हेर्दा हनी–ट्रयापरविरुद्धको संगठन नै बनाउन पर्लाजस्तो भएको’ टिप्पणीसमेत उनले गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : ०५ बजे