मंसिर १७,काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र माग गर्नेहरू देशद्रोही भएकोएका छन्। एमालेले सञ्चालन गरेको ‘मेची–महाकाली यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राजतन्त्र माग गर्नेहरू देशद्रोही भएको बताएका हुन्।
उनले भने, ‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रबिरोधी हो, त्यो जनतालाई गरिव राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हीतमा बोलिरहेको छैन, सोचिरहेको छैन । नेपाल र नेपालीको हित विपरित सोचिरहेको छ ।’
उनले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गरे। उनले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे ।
अध्यक्ष ओलीले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताए । ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताउनुभएको छ ।