काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । गृहमन्त्री क्षेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको थियो ।
एन्जियोप्लास्टी सर्जरी पश्चात गृहमन्त्री क्षेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ । मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थीर रहेको र डा. अरुण मास्केसहितको चिकित्सक टोलीको निगरानीमा उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मंगलबार बेलुकी मुटुको शल्यक्रिया गरिएको थियो । गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थीर रहेको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
गृह मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको हो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध र छातीमा असहज महसुस भएपछि गएराति अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचार जारी रहेको उल्लेख गरिएको छ ।
यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको समयमा पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो ।














