काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोह रहेको आरोपमा पक्राउ गरिएका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, रकम र लेनदेनका कागजातहरु बरामद भएको एसएसपी खत्रीले बताए । उनले भने,‘उहाँहरुबाट पासपोर्टहरु, नगद र कागजातलगायतका दस्तावेजहरु बरामद भएका छन् ।’
पक्राउ परेकाहरुलाई कारबाहीका लागि मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको जानकारी उनले दिए ।रुस–युक्रेन द्वन्द्व चलिरहँदा नेपाली रुसी सेना रहेको पुष्टि भएको थियो । अवैध भर्तीको खबर बाहिरिएपछि प्रहरीले त्यसरी पठाउने गिरोहको खोजी थालेको जनाएको छ ।