मंसिर २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ ।
मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए ।
उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पु¥याउन आग्रह गरे ।
जनताको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न आग्रह गरे । कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए । काशी प्रदेश नामाकरणमा एमालेसहित नेपाली काँग्रेस नेकपा ९माओवादी केन्द्र० पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे ।
प्रमुख गौतमले एमालेको यो अभियान जनताका मुद्दा सम्बोधन गर्ने अभियान भएकाले सबैले सहयोग गर्न आवश्यक रहेको बताए । नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गरेको छ ।














