त्रिभुवन विश्वविद्यालयमा खुला र पारदर्शी रुपमा भिसी नियुक्ति गर्न प्रदिप पौडेलको माग



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं युबा नेता प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न सरकारलाइ आग्रह गरेका छन् । लाखौं लाख दक्ष जनशक्ति उत्पादन गरेको प्रतिष्ठित विश्वविद्यालय अत्यन्तै धाराशयी अवस्थामा पुगेको भन्दै नेता पौडेलले विज्ञापनमार्फत भिसी नियुक्ति गर्न प्रधानमन्त्रीलाइ आग्रह गरेका हुन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन, ‘देशकै पुरानो त्रिभुवन विश्वविद्यालयले कुनै समय उच्च शिक्षाको सिङ्गो धरातल सम्हाल्यो । विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्यो । लाखौं लाख दक्ष जनशक्ति उत्पादन गर्यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय अत्यन्तै धाराशयी अवस्थामा पुगेको छ । आफैले बनाएको क्यालेण्डरमा समेत हिड्‌न नसक्ने अवस्थामा पुगेको छ । शिक्षक र कर्मचारी नियुक्ति देखि परीक्षा तालिका लगायतका सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको छ । त्यसैले सरकारलाई मेरो आग्रह छ, लाखौं विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस् ।’

राजनीतिक रङ्ग एबं कसैको दवाव र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा खुला र पारदर्शी रुपमा भिसी नियुक्ति गर्न उनले माग गरेका छन् ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  १ : १८ बजे