मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जका मेयर र उपमेयर समर्थकबीच कार्यालय परिसरमै कुटाकुट



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ। कार्यालयका कुन कोठा कसले प्रयोग गर्ने भन्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएपछि समर्थकबिच कुटाकुट भएको हो।

कार्यकारी अधिकृतको कार्यालय अर्कै भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो।

महानगरको नयाँ भवनमा मेयर राजेशमान सिंहको कार्यालय सारिएको थियो। उनको पुरानो कार्यकक्षमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो। यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो।

तर उपमेयर इम्तियाज आलमले भने कार्यकारी अधिकृत सरेपछि खाली बनेको कोठामा आफू बस्ने बताएका थिए। मंगलबार पञ्जीकरण शाखा सार्ने विषयमा मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदै कुटाकुटको अवस्था सिर्जना भयो।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरको स्थिति सामान्य रहेको बताएका छन्। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरेको छ।

गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए। मेयर जसपाबाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ३९ बजे