काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न सरकारले ९९ रोपनी जग्गा उपलब्ध गराउने विषयलाई टुंग्याउने बताएका छन् । शनिबार काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले केन्द्रलाई जग्गा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएका हुन ।
दाहालले यसअघि नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा ९९ रोपनी जगा उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गर्दै जग्गाको विषय टुंग्याउने बताए । दाहालले भने, ‘मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो। गत वर्ष पनि मैले यसबारे प्रतिबद्धता व्यक्त गरिसकेको छु। तसर्थ, मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सरकार प्रतिवद्ध छ।’
प्रधानमन्त्री दाहालले गत वर्षको माघमा नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने बताएका थिए । साथै प्रधानमत्री दाहालले मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको भन्दै अंग प्रत्यारोपणबारे सबैले सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन् ।














