जहाज खरिद प्रक्रिया त्रुटिरहित र पारदर्शी बनाउन प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ जहाज खरिद प्रक्रिया शतप्रतिशत पारदर्शी ढंगले अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङका क्रममा उनले कुनै पनि त्रुटि र विवाद नहुने गरी जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

“नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठ्ने, कुनै त्रुटि नहोऊन्,” प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ ।

नेपाल वायुसेवा निगमले यो वर्ष आन्तरिक उडानको लागि मात्रै ३ वटा नयाँ जहाज खरिद गर्न लागेको छ । यस्तै धारामा पानी नआउने तर बिल भने जनताले तिर्नुपर्ने समस्या अन्त्य गर्न खानेपानी मन्त्रालयलाई पनि दाहालले निर्देशन दिएका छन् ।

पानी नआउने धाराको बिल तिर्दा उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न बैठकमा प्रधानमन्त्री दाहालले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भनेका छन्, “धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन्। त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ,जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्ध रूपमा काम गर्नुस्।”

बैठकमा दाहालले मेलम्चीको पानी ल्याउन हाल दुई सिफ्टमा काम गरिरहेको जानकारी दिए । एक महिनाभित्र सुन्दरीजलमा मेलम्चीको पानी झार्ने दाबी गर्दै दाहालले मन्त्रालयलाई सोही अनुसार कामको नेतृत्व लिएर सहजीकरण गर्न समेत अग्रह गरेका छन् ।

प्रकाशित मिति : पुस ८, २०८० आईतबार  ३ : ५४ बजे