बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड



गोरखा, ११ पुस स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे ।

‘‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो”, प्रधानमन्त्री दाहालले भने, ‘‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’’

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनले बताए । “यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,” प्रधानमन्त्री दाहालले भने ।

उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए ।

प्रकाशित मिति : पुस ११, २०८० बुधबार  ६ : ४१ बजे