मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरा मन्दिरमा दुई महिनामै ६८ लाख भेटी संकलन



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अवधिमा ६८ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैयाँ रहेको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले मन्दिरमा संकलित सो दुई महिनाको भेटीसहित समितिको बैंक मौज्दातमा कुल ८ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ रहेको बताए । उनका अनुसार नेपाल बैंक सहित विभिन्न ५ वटा बैंकमा समितिका खाता छन् ।

मन्दिरमा पछिल्लो पटक रिफाइन नगरिएको ९८ तोला बढी सुन समेत संकलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको छ । त्यस्तै, सोही अवधिमा ९२ किलो ६५० ग्राम चाँदी पनि संकलन भएको छ ।

यसअघि दुई वर्षको अवधिमा संकलित सुन चाँदीको विवरण एकिन भएको थियो । उक्त विवरण अनुसार २०७७ साल भदौ १८ देखि २०७९ साल भदौ ६ गते सम्म सुन ८६ तोला ९३ लाल रहेको छ भने ६ हजार ५३५ किलो तामा र १६ हजार ३ सय ६८ किलो घण्टी समेत तौल गरेर भण्डारण गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले यसरी भक्तजनबाट संकलन भएको सुन, चाँदी, तामा र घण्टीलाई व्यवस्थापन गर्ने सम्बन्धमा थप बैठक बसी निर्णय लिने जनाएको छ । पाथीभरा क्षेत्र विकास समिति ०५३ सालमा गठन भएपनि पाथीभरामा संकलन भएको भेटीघाटी २०७६ सालदेखि मात्रै समितिले हेर्दै आएको छ ।

समितिका अध्यक्ष रक्की थेबेले अहिले समितिले पाथीभरा क्षेत्रको भेटीघाटी व्यवस्थापन गर्दै आएको बताए । त्योभन्दा अघि भने जिल्ला विकास समितिका प्रमुखको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरी व्यवस्थापन हुँदै आएको थियो । पाथीभरामा हाल संकलित भेटीघाटी भने अब थप कर्मचारी व्यवस्थापन गरेर गणनाका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष थेबेले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ४६ बजे