काठमाडौँ, १६ पुस । प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन् ।
नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका संस्थापक कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य र सर्वमान्य नेता भएकामा कसैको दुईमत नरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले भने, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आफूले प्रयास गरिरहेको जानकारी गराए ।
प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै कार्यकालसम्म रहने र यसैबाट जनतालाई समृद्धि प्राप्त हुने बताउँदै सरकारका गरेका राम्रा कामको कांग्रेसले पनि निर्धक्क साथ अपनत्व र स्वामित्व लिन सक्नुपर्ने धारणा व्यक्त गरे ।














