मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाविहीन बन्दै हुम्लाका गाउँ,कोही बिते लास उठाउन मुस्किल



हुम्ला, १७ पुस । सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।

जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् । सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् । 

हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा ९एमाले० गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए। गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौँको सङ्ख्यामा अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिकाका युवा कालापहाड ९भारत० जान थालेका भण्डारीले बताए । 

यही पुस १० गते मङ्गलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको सङ्ख्या निकै बढी देखिएको छ । कावाडी प्रहरीचौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए । 

अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए। उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए । गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : १६ बजे