नेपाल-भारत संयुक्त आयोगको बैठक, विद्युत् व्यापारको विषयमा नेपालले जोड दिने



काठमाढौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आउँदो बिहीबार नेपालमा बस्ने भएको छ। बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुब्रह्मन्यम जयशङ्कर बिहीबार बिहान नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोभिड महामारीका कारण विगत २ वर्ष बैठक हुन सकेको थिएन। २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो। त्यसयता रोकिएको बैठक यो यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आयोगको बैठकमा नेपालका तयारीका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले पूर्वपरराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग मङ्गलवार छलफल गरेका छन्। छलफलका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव आएको मन्त्री सादउले जानकारी दिए।

छलफलका सहभागीले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिएको मन्त्री साउदले बताए।

छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, अन्तर्देशीय पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उनले बताए।

उच्चस्तरीय भ्रमणमा भएको सहमति र समझदारीको कार्यसूची आयोगको बैठकमा प्रस्तुत हुने र त्यसलाई मूर्तरूप दिने कार्य बैठकले गर्छ

प्रकाशित मिति : पुस १८, २०८० बुधबार  ९ : ४६ बजे