मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानकी मन्दिरबाट कोसेली लिएर टोली अयोध्यातर्फ



जनकपुर । धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार(कोसेली)सहितको टोली प्रस्थान गरेको छ । अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो ।

बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ ।

सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।

भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र विरगञ्जमा पुगेर रात्री विश्राम गर्ने र भोलि(शुक्रबार) पुनः विरगञ्जबाट रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ ।

अयोध्यामा रात्री विश्राम गरी शनिबार विहान सम्पूर्ण भार राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले जनाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : ०६ बजे