एउटै काउली नौ किलोको, नेपालमा अहिलेसम्मकै ठूलो काउली भएको दाबी



गोरखा, २० पुस । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।

“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।” नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।

“बारीमा आठ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भने, “लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।” काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उनको भनाइ छ ।

मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : १८ बजे