सुविधा पुगेर पनि गाउँ रित्तिन थाले : राष्ट्रपति पौडेल



तनहुँ, २० पुस स् राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् ।

भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गरे । 

“अबका दुईचार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पु¥याउन हामी लागेका छौँ । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् रु”, राष्ट्रपति पौडेलले भने, “विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो रु यो प्रश्न म आफँैसँग गरिरहेको छु । उत्तर पनि मसँगै छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन ।”

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गरे । “अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ”, उनले भने ।

राष्ट्रपति पौडेलले आफूले पहिलोपटक चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु भनेको स्मरण गरे । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्यचौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको उनको भनाइ थियो । उनले अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ४० बजे