सर्लाहीको बरहथवामा कर्फ्यु लगाईयो



काठमाडौं, २० पुस । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा कर्फ्यु जारी गरेको छ । एक जना युवाको ज्यान जानेगरी भएको घटनापछि थप क्षति रोक्नका लागि कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।

आज (शुक्रबार) साढे पाँच बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी रहने बताइएको छ । बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा– ६ का ३२ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार र उशृंखल गतिविधि रोक्न कर्फ्यु जारी गरिएको बताए ।

प्रशासनले पूर्वमा सीतपुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती–चोर्निया पुलसम्म कर्फ्यु जारी गरेको छ।

कर्फ्यु अवधिभर आजवतजावत गर्न, भेला हुन, बाहिर हिंलडुल गर्न र कुनै प्रकारको गतिविधि गर्न रोक लगाइएको छ ।

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको थियो ।

सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रजिअ धमलाले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : २३ बजे