मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी



म्याग्दी २० पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।

माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएकोे सो समितिले जनाएको छ । उद्योग वाणिज्य सङ्घ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताइन् । उनका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेला पनि आयोजना गरिने भएको छ ।

मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने भएको छ । खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु छ हजार र रु तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, सङ्घसंस्था र समूहको पहिचान झल्कने झाँकी पदर्शनीसहित स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ४१ बजे