राष्ट्रियसभा निर्वाचनका लागि सिटौलाले गरे मनोनयन दर्ता



काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यको रिक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएका सिटौला यसअघि प्रतिनिधि सभा सदस्यमा दुई पटक झापाबाट पराजित भइसकेका छन् ।

सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो । मनोनयन दर्ताका लागि सोमबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ०६ बजे