काठमाडौं । सरकारले टेरामक्स प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालको राजीनामा स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो ।
अध्यक्ष खनालले कार्यकाल करिब सात महिना बाँकी हुँदै मंगलबार राजीनामा दिएका थिए।
खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भएको भनेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुस ११ गते निर्देशन दिएको थियो।
खनालको राजीनामा स्वीकृत भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारीले जिम्मेवारि पाएका छन् ।