मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात



भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु हँुदा खेल ४२ ओभरमा झारिएको थियो ।

जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १११ रन बनाएको थियो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुम्बिनीलाई जित दिलाउन मृनल गुरुङले ४७ रनको पारि खेल्दा मोहमद हुसेनले २१ रन बनाए । यस्तै विराट भण्डारीले १० तथा कृष्ण कार्कीले ९ रन जोडे । कप्तान सुशान्त थापा २ रनमा आउट भएका थिए । गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : २६ बजे