काठमाडौं । जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।भैरहवाको सिद्धार्थनगर रंगशालामा प्रतिकुल मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४० रन बनाएको थियो ।
एक सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । आर्मीका टप अर्डर ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रन आउट भए ।
उसका लागि कुशल मल्ल ३५ रन बनाए । त्यस्तै, भिम सार्कीले ५२ र विनोद भण्डारी १९ रनको योगदान दिए ।बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो ।खराब सुरुवात गरेको पुलिसले १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि समस्यामा परेको थियो ।उसका लागि आरिफ शेखले १८ रन बनाए । त्यस्तै, शंकर रानाले मात्र पाँच रन, सुनिल धमला ५२ रन बनाएर पभिलियन फर्किए ।
आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।