मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा बढ्न थाले कोरोना संक्रमित



काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा कोभिड–१९ का ६ जना बिरामीको मृत्यु पनि भएको छ ।मृत्यु हुनेमा केरलाका चार, महाराष्ट्र र उत्तर प्रदेशका एक–एक जना छन् । गत वर्षको डिसेम्बर ५ सम्ममा कोभिड–१९ का संक्रमितको संख्या दैनिक घट्दो क्रममा थियो । तर भाइरसको नयाँ सबफर्म जेएन.१ र जाडो मौसमका कारण संक्रमितको संख्या पुनः बढ्न थालेको भारतीय अधिकारीहरुले बताएका छन् ।

आधिकारिक स्रोतहरूका अनुसार डिसेम्बर ५ पछि संक्रमण दर बढेको हो । डिसेम्बर ३१ को एकै दिनमा सबैभन्दा बढी ८ सय ४१ नयाँ बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनि कोरोनाबाट बिरामी भइ उपचार गराइरहेका करिब ९२ प्रतिशत बिरामी घरमै आइसोलेसनमा छन् ।

भारतमा सन् २०२० को शुरुवातदेखि पछिल्ला चार वर्षमा देशभर ४.५ करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५.३ लाखभन्दा बढीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४.४ करोड नाघेको छ भने राष्ट्रिय सङ्क्रमणबाट निको हुनेको दर ९८.८१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार भारतमा एन्टि–कोविड खोप अभियान अन्तर्गत हालसम्म २२०.६७ करोड भन्दा बढी डोजहरू दिइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : ३६ बजे