मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँखुको शालीनदी क्षेत्रमा स्वस्थानी मेलाको तयारि पुरा



काठमाडौं । साँखुमा ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्वको स्थल साँखुको शालीनदी क्षेत्रमा स्वस्थानी मेलाका लागि तयारी पुरा भएको छ । माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्छ ।

बिहीबारदेखि सुरु हुने मेलाका लागि उक्त क्षेत्र सरसफाइ र सवारी पार्किङ व्यवस्थापन गरिएको छ । परापूर्वकालदेखि यहाँ महिनासम्म श्रद्धालुको आवागमन हुने गरेको छ । हरेक वर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म हुने मेला यसपटक माघ ११ देखि फागुन १२ गतेसम्म चल्दैछ । व्रत र मेलाका लागि शालीनदी परिसरमा धुमधामका साथ तयारी छ । यहीँ आएर एक महिने व्रत बस्न चाहने व्रतालुहरुको सुविधाका लागि पहिले नै लगत संकलनका लागि नाम दर्ताको व्यवस्था गरिएको छ ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फपिङ, पनौती र चाँगुनारायण) स्थान लगिने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिने मेला आयोजकले जनाएका छन् । व्रतालु हिड्नका लागि आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट संघ, रेडक्रस सोसाइटी शंखरापुर उपशाखा, स्वयम सेवक तथा विभिन्न संघसस्थाहरूको समन्वयमा आवश्यक बन्दोबस्तका सामानहरु सहित स्वयमसेवकहरु परिचालन हुनेछन् ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार आवश्यक तयारी पुरा भएको छ । ‘हिँड्न नसक्ने अवस्थाका व्रतालुहरुका लागि आवश्यक सहयोग लिइ गन्तव्यसम्म पु¥याउने व्यवस्था पनि गरिएको छ,’ उनले भने ।

माधवनारायण व्रत र शालिनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा यहाँ बर्सेनि घुइँचो रहने उनले बताए । ‘भक्तजनहरुको आस्था, विश्वासका कारण बर्सेनि आगमन बढ्दो क्रममा छ,’ उनले भने, ‘यो वर्षको मेलामा २२ देखि २५ लाखसम्म धार्मिक पर्यटकहरुको आगमन हुने अनुमान गरेका छौं ।’ त्यहीअनुसार स्नान र पूजाका लागि सहजीकरण व्यवस्थापन गरिएको जानकारी उनले दिए ।

उनले भने, ‘यो कठिन व्रत भएको हुनाले नाम लेखेका जति हुन सक्छन्, नहुन पनि सक्छन् । व्रत सुरु भएको चार दिनसम्ममा यो व्रतालुको संख्या घट्न सक्छ, बढ्न पनि सक्छ । तैपनि यसपाली १ सय ९८ जनाको नाम भने टिपेका छौ, त्यसमा १७ जना पुरुष र महिला १८१ जना छन् । यसपाली करिब २५ लाख भक्तजन आउने सोच राखेका छौं ।’

भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको प्रबन्ध गरिएको छ । यहाँ शालीनदी यातायात प्रालि र बाबा गोकर्णखर प्रालिले गाडीको प्रबन्ध गरेका छन् । बसहरु नपुग अवस्थामा थप व्यवस्था गरिने भएको छ । प्रत्येक गाडीमा भाडादर समेत टासेर सुविधा दिइने भएको छ ।उनले भने, ‘भक्तजनको लागि बसको व्यवस्था गरेका छांै र सुरक्षाको विषयमा साँखु क्षेत्रमा ६०÷७० वटा जहिले पनि परिचालित हुन्छन् । त्यसमा थप करिब ५० जना छुट्टै सुरक्षा परिचालन गरिने छ । आवश्यक परेको खण्डमा अथवा बिदाको दिन धेरै भीड हुने समयमा अझै बढी सुरक्षकर्मी खटाउने व्यवस्था गरिएको छ । प्रहरी सुरक्षाको सँगै स्वयंसेवकको रुपमा स्काउट लगायत विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको छ ।’

शालीनदी क्षेत्रका विभिन्न स्थानमा सीसीटीभी क्यामेरा राखिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार शालीनदीमा मेला एक महिना लागे पनि बाँकी महिना पनि आउने बनाउन धार्मिक तीर्थस्थलको रुपमा विकास गर्न योजना अघि बढाइएको छ । दानपेटी र विभिन्न संघसंस्था, सरकारी निकाय आएको पैसालाई निर्माणकार्यका लागि प्रयोग गर्दै आएको उनले बताए ।

मेला अवधिमा भक्तजनहरूका लागि प्राथमिक उपचार कक्ष निःशुल्क हुनेछ । माधवनारायण दर्शन गर्न छिटोछरितो हुनेछ । बालबालिका, अशक्त, अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई विना लाइनमा दर्शन गहराउने व्यवस्था मिलाइने तयारी छ । भक्तजनहरुका लागि खानेपानीको निःशुल्क वितरण गरिने भएको छ ।मेला अवधिभर शालीनदी परिसर र यस वरपर मेलामा राखिने हाटबजारमा प्लास्टिकका झोलाहरुको प्रयोग निरुत्साहित गरिने भएको छ । यसमा समितिले व्यवसायीसँग समन्वय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

शालीनदी वरिपरीका होटेलहरु अनिवार्य रूपमा मूल्यसूची राखेर मात्र सञ्चालन गर्नका लागि व्यवसायहरुसँग समन्वय गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ०६ बजे