स्याङ्जा, १० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।
कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन् ।
“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”
कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको भन्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भने, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”
सम्मेलनमा पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, गोविन्द भट्टराई,सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।