मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए विवादमा अदालतले दिएन अन्तरिम आदेश



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र मन्त्रालयमा विभिन्न उजुरीहरु परेको र विवादमा सम्बन्धमा छानविन समिति समेत बनिसकेकाले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

गैरआवासीय नेपाली संघ बालुवाटारलाई विपक्षी बनाइ दिपेश खत्रीले दिएको रिट दायर गरेका थिए । निवेदकका तर्फबाट अधिवक्ता थालेश्वर काफ्ले र विपक्षी परराष्ट्र मन्त्रालयका तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, अधिवक्ता विपिन सुवेदी र तेजेन्द्र गिरीले बहस गरेका थिए ।

त्यस्तै विपक्षी रविना थापाका तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, विपक्षी राजेन्द्रकुमार शर्माका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा ‘बन्दी’ र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गरेका थिए । त्यस्तै विपक्षी कुल आचार्यका तर्फबाट शान्तिराम खतिवडा र अधिवक्ता यादवप्रसाद ढुंगानाले बहस गरेका थिए ।

संघको गत असोज ३० देखि कात्तिक ३ गतेसम्म भएको निर्वाचन वा महाधिवेशन रोकीपाउँ भनि परेको रिट निवेदन माघ ३ मै खारेज भएको अदालतले जनाएको छ । संघको निर्वाचन सम्बन्धी विवादका सवालमा गत मंगलबार मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेको थियो । सरकारले छानबिन समिति बनाइसकेकाले अन्तरिम जारी गर्नु नपर्ने ठहर अदालतको छ ।

संघको ११ औं महाधिवेशन र निर्वाचन कार्यक्रममा दुई पक्षबीच मत परिणाममा विवाद हुँदा एनआरएनएका छुट्टाछुट्टै समान्तर समिति सक्रिय छन् । आफूलाई विजयी घोषित गरी शपथ ग्रहण गरेका बद्री केसी समूह र बेग्लै अधिवेशन गरी समिति विस्तार गरेको आरके शर्मा एवम् महेश श्रेष्ठ समूहले समान्तर गतिविधि गरिरहेका छन् । १०औं महाधिवेशनबाटै अलग भएको पूर्वअध्यक्ष शेष घलेको समूहका नेतृत्व विनोद कुँवरले गरेका छन् ।

११औं महाधिवेशन विवादबारे केसी समूहले धाँधलीको पुष्टि गर्न चुनौती दिँदै आएका छन् भने शर्मा र श्रेष्ठ भने विवाद समाधान नभइ केसी समूहले शपथ लिएको र धाँधली भएको पुष्टि भएको दाबी गर्दै आएका छन् । यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भने मतदानका क्रममा त्रुटि भएको जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : २१ बजे