शहीदहरू प्रेरणाका श्रोत र पथप्रदर्शक : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरू प्रेरणाका श्रोत र पथप्रदर्शन भएको बताएका छन् । शहिद स्मारक लैनचौरमा मंगलबार विहान आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’

उनले शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे ।

उनले जहानीयाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदहरु प्रति स्मरण र सम्मान गरे ।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।’ प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ३० बजे