लालिगामा बार्सिलोना र मड्रिड विजयी



काठमाडौं । लालिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एथ्लेटिकोले भालेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।

बार्सिलोना र ओसासुनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।६७ औं मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो ।

६३ औं मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अंक दिलाउन सफल भयो । बार्सिलोना २२ खेलबाट ४७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अंकका साथ १२ औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।रेनिल्डोले ३५ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा भालेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।

तर, ९० औं मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई जित दिलाए । जितपछि एथ्लेटिको मड्रिड ४७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । रायो भालेकानो भने २४ अंकका साथ १३ औं स्थानमा छ । लालिगामा जिरोना ५५ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : माघ १८, २०८० बिहीबार  १० : ३४ बजे