मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो ।

समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार,महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ्ग काउन्सिलको तर्फबाट शुक्ला खनाल रहेका छन् ।

सरकारी अस्पतालहरुका प्रमुखमध्ये कान्ति बाल अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित भएका छन् भने स्वास्थ्य विभागका प्रमुखकी सचिव सजिना महर्जन पनि सदस्य चयन भएकी छन् । बैठकमा नगर प्रमुख साहले लक्षित वर्गसम्म स्वास्थ्य सेवा सहज रुपमा पुर्याउन ऐनको पालना गरेको बताए । समिति गठन गर्नुको उद्देश्य नै सार्वजनिक स्वास्थ्य सेवा लिने र दिने दुवै प्रकृया सहज बनाउनु रहेको बालेनको भनाई छ ।

‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा सेवा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ््यारो परे महानगरपालिकाले सहजीकरण गर्छ ’ प्रमुख साहले भने ।

यस्तै,१० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि महानगरले कार्यान्वयनमा ल्याउन लागेको जानकारी गराउँदै साहले अनलाई प्रणालीको प्रयोग गरी आम नागरिकले सहज सेवा लिनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकलाई अनलाईनबाट सेवा दिन आग्रह गरे ‘अनलाई प्रणालीको अभ्यास गरौँ । प्रयोगमा आइसकेपछि यसका सवल र दुर्वल पक्ष थाहा हुनेछन् । यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दै जाऔँला’ साहले भने ।

गठित निर्देशक समितिले लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन नेतृत्व गर्नेछ भने यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : २६ बजे