मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीले मन्त्रीसमक्ष सुनाए समस्या



काठमाडौं । अष्ट्रेलिया पर्थमा रहेका नेपालीहरुले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसमक्ष पासपोर्ट नविकरणमा झेल्नु परेको सास्ती हटाउन आग्रह गरेका छन् ।सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा त्यहाँ पुगेका मन्त्री साउदको स्वागातार्थ जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा पर्थमा रहेका नेपालीहरुले गुनासो गरेका हुन् ।

एनआरएनए अभियन्ता दिनेश अधिकारीले नेपालको सरकारी उच्च तहको पर्थमा धेरै बर्षपछि औपचारिक भ्रमण भएकोमा खुशी व्यक्त गदै भने,‘नेपाली पासपोर्ट समयमा नविकरण गर्न नपाउँदा वा नसक्दा विदेशी पासपोर्ट लिन बाध्य नेपालीहरु धेरै छन्, त्यसैले नेपाल सरकारले पासपोर्ट नविकरण सहजरुपमा गरिदिनु पर्छ ।’

एनआरएनए वेष्र्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले पर्थमा सरकारी उपस्थिति दरिलो बनाउनुपर्ने बताए । उनले भने,‘वेष्र्टन अष्ट्रेलियामा अन्य धेरै समस्या छैनन्, पासपोर्ट नविकरण नै अहिलेको मुख्य समस्या हो ।’ उनले दुर्लभ हुने पासपोर्ट वनाउने घुम्ति शिविर मात्र दीर्घकालिन समाधान नभएको हुँदा सबै अनलाइन प्रणाली अपनाएर दीर्घकालिन समाधानको उपाय खोज्न आग्रह गरे ।

नेपाली दूतावास क्यानवेराबाट चार हजार किलोमिटरमा रहेको वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीहरुले पासपोर्ट वनाउन तथा नविकरणका लागि धेरै सास्सी खेप्नु परेको गुनासो उनीहरुको छ ।मन्त्री साउदले नेपाली डायस्पोराको साइज अष्ट्रेलियामा बढेकोमा सरकारले प्राथमिकतामा राखेर हेर्ने बताए । सरकारले दक्षिण एसियामा नै पहिलो पटक इ–पासपोर्ट बनाउन शुरु गरेको जानकारी दिदै मन्त्री साउदले भने,‘हामीले सार्क देशमानै पहिलो पटक इपासपोर्ट ल्यायौ, सरकारले धेरै सकारात्मक कार्य गरेको छ, राम्रो कामको प्रतिक्रिया विदेशमा रहेका नेपालीले गर्नुपर्छ, जसले गर्दा सकारात्मकता जाग्छ ।’

मन्त्री साउदले विभिन्न देशमा रहेका नेपालीहरुले पासपोर्ट नविकरणमा झेल्नु परेको समस्या नजिकबाट जानकार रहेको बताउँदै अवको केही महिनामा नै समस्या हल हुने प्रतिक्रिया दिए ।
मन्त्री साउदले पर्थमा आएको बेला अष्ट्रेलियाका विदेशमन्त्री तथा उच्च अधिकारीसँग नेपालीहरुको भिसा तथा विद्यार्थीहरुका लागि सहजिकरणका लागि आफुले अनुरोध गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : २९ बजे