मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश



काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटले साक्षी बुझ्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिर्पोट झिकाउन आइतबार आदेश दिएको हो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा आलम थुनामा छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको थियो । वास्तविकता बाहिरिने डरले आलमले बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोप छ ।

२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।मुद्दा दायर भएको १० दिनपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको उक्त आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरवलोकन निवेदन दिएका थिए ।

२०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । उक्त मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन् ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ७ : ०७ बजे