२०८२ मंसिरमा १५औं महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव, यस्तो छ कार्यतालिका



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा २०८२ मंसीर भित्र महाधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका पेश गरेका छन्। पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको बैठकमा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका उल्लेख छ।

थापाले पेश गरेको प्रस्तावमा २०८१ असोजमा विधान महाधिवेशन गरिने उल्लेख छ। २०८१ साउनसम्म १५औं महाधिवेशनबाट लागू गर्ने गरी विधानमा गर्नुपर्ने संशोधनबारे पार्टीको सबै तहबाट सुझाव संकलन र छलफल गर्ने प्रस्ताव थापाले पेश गरेका छन्।

उनको प्रस्ताव गरेको कार्यतालिका अनुसार २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन, २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाइनेछ।

२०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव थापाले अघि सारेका छन्।

प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार  ४ : ५० बजे