आइसीसी एक दिवसीय विश्वकप लिग टू क्रिकेटको एक दिवसीय क्रिकेटमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।
नेपालले ३७.१ ओभरमा सवै विकेट गुमाएर १६८ रनमात्रै बनाउन सक्यो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाहुना टोली नामिबियाले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
जुन निर्णय सही सावित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जित्ने टोलीले पहिला फिल्डङ गर्दा विपक्षी टिमलाई कम स्कोरमा रोक्ने गरेका छन् । टस हारेर पहिला ब्याटि गरेको नेपाललाई नियमित ओपनर कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत दिलाएका थिए ।
नामिवियाविरुद्ध एक खेलाडी परिवर्तन गरेको नेपालको प्रदर्शन भने सन्तोष जनक रहेन । नेपालको ६।२ ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएपछि विकेट पतन सुरु भएको थियो । नेपालले पहिलो विकेट ३८ रन हुँदा गुमाएको थियो । कुशल भुर्तेल १६ बलमा १८ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका अनिल साहले २ बल फेस गरे पनि खाता खोल्न असफल रहे ।
अनिल पछि क्रिजमा आएका देव खनालले ५ बल फेस गर्दा खाता खोल्न असफल हुँदा नेपालले तेस्रो विकेट खेर फाल्यो । नेपालले आठौं ओभरमा ४३ रन हुँदा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि आशिफ शेख र कुशल मल्ल मिलेर पारि सम्हालेका थिए । आशिफ करियरको १२ औं अर्धशतक बनाएर आउट भए । आशिफले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतले ५८ रनको पारि खेले । उनी आउट हुँदा नेपालले १०० रन बनाएको थियो । पाँचौं विकेटको रुपमा कप्तान रोहित पौडेल नामेवियाविरुद्ध खाता खोल्न असफल भए ।
उनले ९ बल फेस गरेका थिए । छैटौं विकेटको रुपमा भने कुशल मल्ल आउट भए । कुशलले ५२ बलमा ३६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे । सातौं विकेटको रुपमा नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्र १८ बलमा ६ रन बनाएर स्टम्प आउट भएका थिए ।
आठौं विकेटको रुपमा सोमपाल कामी क्याच आउट भए । उनले ४ रनमात्रै बनाए । नवौं विकेटको रुपमा नेपालले सेट भएका भीम सार्कीलाई गुमायो । भीमले ३६ बलमा २६ रन बनाएर बोल्ड आउट भएका थिए । अन्तिम विकेटको रुपमा करण केसी १२ रनमा क्याच आउट भए ।
नामिबियाका ब्रेनार्ड स्कोल्ट्ज र जान निकोल इटोनले चार चार विकेट हात पारे । यस्तै, ज्याक ब्रासेल, गेरार्ड इरास्मसले एक एक विकेट लिएका छन् ।