काठमाडौं,१५ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।
मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक लेखा समितिबाट अख्तियारलाई लेखिपठाएका निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए ।
तारागाउँ विकास समितिको जग्गासम्बन्धी विषय अख्तियारमा पुगेकामा अनुसन्धान टुङ्ग्याएर थप कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिए । नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको उनले बताए । वाइडबडी विमान खरिदका क्रममा भएको आर्थिक अनियमितताबारे अनुसन्धान थाल्दा विदेशस्थित विभिन्न सङ्घसंस्था तथा निकायबाट पनि सूचना प्राप्त गर्नुपर्ने भए पनि सम्बन्धित देशसँग सूचना आदानप्रदानसम्बन्धी द्विदेशीय सम्झौता नभएका कारण त्यसमा समस्या भएको प्रमुख आयुक्त राईले गुनासो गरे ।
उनले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरण, चमेलिया जलविद्युत् आयोजना, वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी, प्रिमियम मूल्यमा शेयर जारी गर्न दिने नेपाल धितोपत्र बोर्डको निर्णयविरुद्धको मुद्दालगायत आयोगले गरेका कामकारबाही र जारी अनुसन्धानबारे जानकारी ए ।
यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।
त्यस्तै, प्रमुख आयुक्त राईले तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोडको प्रकरणमा पनि छानबिन भईरहेको जानकारी गराए । उनले आरोप प्रमाणीत नभएसम्म कसैलाई पनि मुद्दा दायर नगरिने प्रष्ट पारेका छन् ।
सेक्युरिटि प्रेस प्रिन्टिङ प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्याएर ९मुद्दा० लैजान हुँदैन ।’
टेरामक्स प्रकरणमा मुछिएका मन्त्री बस्नेतलाई बखास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले दिनहुँ सदन अवरुद्ध गरिरहेका छन् ।














