महिला सांसद र पत्रकारलाई ह्यारेसमेन्ट गरिन्छ : उपसभामुख राना



काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखिम रहेको बताइन् ।

उनले भनिन्, ‘महिला सांसदहरुलाई अहिले पनि हिंसा गरिन्छ । महिला पत्रकारलाई पनि उत्तिकै गाह्रो छ । बलात्कार गरिन्छ, ह्यारेसमेन्ट गरिन्छ, अगाडि बढ्न दिइदैन । समाजका लागि आवाज उठाइरहेका महिला सांसद तथा निडर र निर्भिक भएर लेखनका लागि डटिरहेका पत्रकारका लागि राज्यले सोच्ने बेला आएको छ ।’

त्यस्तै, रानामगरले कतिपय मानिसहरुले प्रनिधिसभामा उपसभामुख कुनै भूमिका हुँदैन भन्ने गरेको उल्लेख गर्दै उपसभामुख भएर गर्न सकिने कामहरु सडकमा कराएर गर्न नसकिने बताइन ।उनले भनिन्, ‘मैले सरकारको पाँच पैसा नखाइकन कयौं बच्चाहरुलाई हुर्काएकी छुँ । मेरो मेहेनतले शून्यबाट सुरु गरेको हुनाले आज मैले जुन पद पाएकी छु, यो मेरो लागि महत्वपूर्ण उपलब्धि हो जस्तो मलाई लाग्छ । यहाँ बसेर म जुन काम गर्न सक्छु यति काम सडकमा कराएर हँुदैन । धेरैले भन्ने गर्नु भएको छ संसदमा उपसभामुखको खासै काम हुँदैन, सभामुखले आराम गर्दा, खाजा खाँदा काम लाग्ने पद हो । तर मलाई यस्तो लाग्दैन । म एउटा संवैधानिक परिषद्की सदस्य हुँ ।’

मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पत्रकारको महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला पत्रकारको सुरक्षाका लागि सोच्ने बेला आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  ६ : ५२ बजे