जितजंग बस्नेतको प्रश्न : माओवादीका कार्यकर्ताले जे गरे पनि उन्मुक्ति पाउने हुन् ?



३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले वर्तमान सरकार रहुन्जेल गैरकानूनी काम गर्नेले उन्मुक्ति पाउने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिएको भन्दै यस्ता काम कहिलेसम्म भइरहने हो ? उनले प्रश्न गरे ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोराहरु सुन तस्करी प्रकरणमा मुछिएको प्रसंगमा उनले माओवादी केन्द्रका नेताका छोराहरु गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आए पनि उनीहरुलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिन खोजिएको उनले आरोप लगाए ।

उनले प्रश्न गर्दै भने, ‘ के नेपाल सरकार गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको होरु माओवादी केन्द्रका नेताका छोराहरु गैरकानूनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएका छन् तर माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानूनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानुनी कारोबार गर्न सहज हुने बनाउन हो ? यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रहिरहन लालायित हो ?’ ।

बस्नेतले सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा नेपाल सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको आरोप लगाए ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ५ : ५१ बजे