होस्टलमा बस्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा होस्टलकी सञ्चालक पक्राउ



विराटनगर । आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ ।

आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत् एकजना छात्रालाई दुव्र्यवहार गरेको भिडियो सार्वजानिक भएको थियो ।

भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएपछि धेरैले चासो व्यक्त गर्दै पीडित छात्राप्रति सहानुभूति व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् ।

छात्रामाथि अमानवीय व्यवहार भएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

होस्टलमा बस्ने छात्रासँग रेग्मीले चैत महिनाको शुल्क मागेको भिडियोमा देखिन्छ । अहिले चैतको पेश्की शुल्क दिन तत्काल आफू असमर्थ रहेको छात्राले बताएकी थिइन् ।

उनको कुराको बेवास्ता गर्दै रेग्मीले पुस्तक र कोठामा भएका कपडालगायत सामग्री फ्याँक्दै, गाली गर्दै उनीमाथि दुव्र्यवहार गरेकी थिइन् । त्यसक्रममा उनले हातपात समेत गर्दै पैसा दिन नसक्ने भए होस्टलबाट तत्कालै निस्कन पनि भनेकी थिइन् ।

होस्टलमा बस्ने अन्य छात्राहरुले रोक्न खोज्दाखोज्दै पनि ती छात्रामाथि रेग्मीले हातपात गर्ने र सामान फ्याँकिदिने गरेको भिडियोमा देखिन्छ ।

यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले छात्रामाथि भएको अमानवीय व्यवहारको निन्दा गरेको छ ।

समितिले दुव्र्यवहार गर्ने ती महिलामाथि कारवाही गरिनुपर्ने माग पनि गरेको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार छात्रामाथि दुव्र्यवहार गर्ने महिलालाई नियन्त्रणमा लिएर घटनाबारे बुझ्ने काम भइरहेको छ ।

घटनामा पीडित पक्षका तर्फबाट प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले दुव्र्यवहार आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ६ : ०० बजे