मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चतरामा महाकुम्भ मेलाको तयारी धमाधम



विराटनगर । आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ ।

मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ ।

कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् ।

प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ । यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ । नेपालका प्रथम जगतगुरु भनिएका वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ ।

चैत २७ देखि २०९१ वैशाख २८ गतेसम्म बराहक्षेत्र चतराधाम क्षेत्रमा बाह्र वर्षे पूर्ण महाकुम्भ मेला आयोजना हुने भएको हो ।

यसका लागि मूल आयोजक समितिले तयारीका काम गरिरहेको छ । विभिन्न पक्षमा काम गर्नका लागि उक्त समितिअन्तर्गत २६ वटा समितिहरु गठन गरिएको छ ।

मूल आयोजक समितिले आज ती समितिहरु घोषणा गरेको हो । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीका अनुसार मेला आयोजनाका विभिन्न पक्षमा काम गर्ने गरी ती समिति बनाइएका हुन् ।

मूल आयोजक समितिमा जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा धार्मिक क्षेत्रका व्यक्तित्वहरु सहभागी गराइएको छ ।

आज घोषणा गरिएका समितिहरुमा आर्थिक, अनुगमन, शान्ति सुरक्षा व्यवस्थापनलगायत समिति छन् ।

यसैगरी, स्वयंसेवक उपसमिति, बजार व्यवस्थापन उपसमिति, प्रचार प्रसार समिति, प्राथमिक स्वास्थ्य उपचार समिति, साहित्य सम्मेलन उपसमितिलगायत छन् ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले महाकुम्भ मेलाको तयारीबारे केहीअघि जानकारी लिएका थिए । कुम्भ मेलास्थल सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुगेर मन्त्री उप्रेतीले मेलाको तयारीबारे जानकारी लिएका थिए ।

त्यस क्रममा बालसन्तले कुम्भ मेलाको तयारी धमाधम भइरहेको जानकारी गराएका थिए । मेलाका लागि भौतिक संरचना निर्माण, विद्युत, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल जस्ता पक्षहरुमा तयारी भइरहेको जनाइएको छ ।

ग्रन्थहरुमा उल्लेख भएअनुसार बराहक्षेत्र, चतरा धाम क्षेत्रको महत्व उच्च रहेको छ । यहाँ नियमित रुपमा पितृ श्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक पर्वहरुको अवसरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ ।

चतरामा भक्तजनहरुको आवासका लागि विभिन्न दाताहरुले भवन बनाएका छन् । विभिन्न देवी देवताका मन्दिरका साथै वृद्धाहरुको हेरचाहका लागि वृद्धाश्रम समेत सञ्चालन गरिएको छ ।

त्यहाँ सञ्चालित वृद्धाश्रमको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले रेखदेख गर्दै आएकी छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : ५३ बजे