काठमाडौं । आज पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले भेटेका छन्।पीडितहरुले सहकारी ठगीमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका हुन्।
बचत रकम फिर्ता गराइदिन माग राख्दै पीडितले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।सहकारी पीडितका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरूले गुनासो गरे।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम कुम्लाएर फरार जीवी राईलगायतलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका छन्।
पीडितहरुले सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो रकम फिर्ता नपाउँदा कतिले ज्यान गुमाएको र कति औषधि उपचारसमेत नपाएको बताएका थिए।














