मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपीको प्रतिमामा माल्यार्पणसहित गगनले सुरु गरे दोस्रो चरणको संवाद यात्रा



नवलपरासी– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि सुरु गरेका छन् ।

बिहीबार बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि शनिबारसम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्या सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्राअन्तर्गत बिहीबार महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् ।

बिहीबार नै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुदै बेथरीसम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल हुनेछ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलबस्तु प्रवेश गर्नेछ ।

थापा नेतृत्वको संवाद यात्रा टोलीले शुक्रबार नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारू संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाइ आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने यात्रामा सँगै रहेका नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ०४ बजे