मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन :मन्त्री श्रेष्ठ



काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ । भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ ।

उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ । नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ ।
क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले क्रिकेट टोलीलाई शुभकामना दिँदै रोकिएका पुरस्कार रासीको प्रक्रियालाई अगाडि बढाउने बताए । मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरुलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताए ।

उनले भने, ‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार रासीका कुराहरु छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ । हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो । यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भईरहेको कुराहरु हो ।’

यस्तै, उनले खेलको परम्परागतशैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको भन्दै सुधारको लागि आफू प्रयासरत रहेको बताए ।
क्यानका महासचिव पारस खड्काले पनि नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएको भन्दै उनले खेलाडीहरुलाई राम्रो प्रर्दशनका लागि आग्रह गरेका छन् ।

उनले भने, ‘नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण छ । इन्डियाको रणजी लेबलको टिमहरुसँग खेल्ने हामीले अवसर पाएका छौं । विश्वकप जुनमा हुने भएको हुनाले यो दुई तीन महिना नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण छ । खेलाडीहरुलाई प्रेसर पनि छ किनभने देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुन्छ तर, त्यो मौका अहिलेका १५ जना छानिएका खेलाडीले पाएको छ । त्यसकारण यसको तयारी एकदमै राम्रो गर्नु हुन आग्रह गर्न चाहन्छु ।’

क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेल क्रिकेटको खेलको लागि टिम एकदमै तयार रहेको भन्दै आफ्नो तर्फबाट तयारी पूरा भएको बताए ।
उनले भने, ‘क्रिकेटको तयारीको कुरा गर्दा हामी एकदमै तयार छौ । हाम्रो या सिरिज पनि हाम्रो लागि एकदमै ठूलो तयारी हो । हामीले यो अवसरलाई महत्व दिएर खेल्ने छौ ।’
तर उनले खेलाडीहरुलाई सरकारले तोकेको पुरस्कार रकम नदिएकोप्रति गुनासो गरे ।

‘सरकारले हामीलाई तोकेको पुरस्कार रकम पनि प्राप्त हुन सकेको छैन्,’ पौडेलले भने ।
विश्वकपमा जानु हाम्रो लागि सबैभन्दा ठूलो प्रगती भएको कोच मन्टि देसाईको भनाई छ ।

उनले गुजरातमा हुने खेलको लागि निकै उत्साहित भएको भन्दै राष्ट्रलाई गर्व महशुस गराउने हिसाबमा खेल्न पनि सबै खेलाडीहरुलाई आग्रह गरेका छन् ।
यो श्रृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ । अप्रिल १ मा गुजरात र बरोडाबीच खेल हुनेछ ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ । अप्रिल ५ मा नेपाल र बरोडाबीच लिग चरणको अन्तिम खेल हुनेछ । त्यसपछि अप्रिल ७ तारिखमा श्रृंखलाको फाइनल खेल खेलिने छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १२ : ४६ बजे