मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधा धर्तीका मालिक महिलाको यस्तो प्रगतिमा सन्तुष्ट हुन सकिदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उदघाटन गर्दै उनले महिला सशक्तिकरणको लागि आर्थिक पहुँच दरिलो बनाउनुपर्ने भन्दै त्यसको लागि सबैको हातेमालो आवश्यक भएको बताए ।

उनले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’

सशक्तिकरण आजको दुनियाँमा शक्तिसँग र शक्ति अर्थसँग जोडिएका भन्दै आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन नसक्ने बताए ।
उनले भने, ‘सशक्तिकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’

उनले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लाने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ । सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ ।’

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : १६ बजे