चर्च ब्वाइजलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा



विराटनगर– विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले पराजित गर्यो ।

जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ । जितका लागि एपीएपका प्रदीप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो ।

५७ औं मिनेटमा एपीएफका प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिषले गोल गरी टिमको जित सुनिश्चत गरे ।

छैठौं संस्करणको विराट गोल्डकपको विजेतासमेत रहेको एपीएफले १० महिनापछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाइजले एपीएफलाई ४–१ गोलले पराजित गरेको थियो ।

चर्च ब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको थियो ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ९ : ३३ बजे