आईपीएलमा लखनऊको दोस्रो जित, बेंग्लोरको तेस्रो हार



काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित निकाल्दा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले भने लगातार दोस्रो हार व्यहारेको छ ।

समग्रमा आरसीबीको तेस्रो हार हो भने लखनऊले अहिलेसम्म एक खेलमा मात्र हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा लखनऊले आरसीबीलाई २८ रनले पराजित गर्दै तालिकाको चौथो स्थानमा पनि राखेको छ । आरसीबी भने नवौं स्थानमा छ ।

लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा आरसीबीले २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १५३ रनमा खेल टुंग्यायो ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले राम्रो सुरुआत गरेको थियो । उसका क्विन्टन डी कक र कप्तान केएल राहुलले ओपनिङ गरेका थिए । पहिलो विकेटको रुपमा राहुल टिमको स्कोर ५३ रन हुँदा २० रन बनाएर आउट भएका थिए ।

यसैगरी दोस्रो विकेटको रुपमा देवदत्त पडिकल व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किदा लखनऊले ८.५ ओभरमा ७३ रन जोडेको थियो । डी कक र मार्कस स्टोनिस मिलेर लखनऊको पारि सम्हाल्दै अघि बढाए ।

तेस्रो विकेटको रुपमा स्टोनिस २४ रन जोडेर आउट भएका थिए । एक छेउँमा टिकेर खेलेका डी कक चोथो विकेटको रुपमा आउट हुँदा लखनऊले ४–१४३ को स्कोर बनाएको थियो । डी ककले ५६ बलमा ५ छक्का र ८ चौका प्रहार गरे । अन्त्यमा निकोलस पुरनले २१ बलमा ४० रनको पारि खेल्दा लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको बलियो योगफल तयार पार्न सफल भयो । आरसीबीका ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

जवाफी पारिमा आरसीबीले राम्रो सुरुआत गरे पनि अन्त्यमा पारि धरमराएको थियो । लखनऊका मयंक यादव र नभिन उल हकले घातक बलिङ गर्दै आरसीबीको पारि ध्वस्त बनाएका थिए ।

आरसीबीका विराट कोहली २२ रन बनाएर आउट भएका थिए । लगत्तै कप्तान फाफ डू प्लेसिस १९ रन जोडेर रनआउट भए । ग्लेन म्याक्सवेलले खाता नै खोल्न नसक्दा लगातार तीन विकेट गुमाएको थियो । क्यामरन ग्रीनले ९ रन जोड्दा अनुज रावतले ११ रनको पारि खेले ।

यस्तै, महिपाल लोमरोरले १३ बलमा ३३ रनको पारि खेल्दै केही प्रयास गरे पनि असफल भए । भरपर्दा फिनिसिर दिनेश कार्तिक जम्मा ४ रन बनाए पभेलियन फर्किदा मोहम्द सिराजले अन्तिम विकेटको रुपमा १२ रन जोडेर आउट हुँदा आरसीबी १५३ रनमा रोकियो ।

लखनऊका मयंक यादवले ३ तथा नभिन उल हकले २ विकेट लए । आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ५१ बजे